काठमाडौं । गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
राउण्ड रोविन लिग अन्तर्गत शुक्रबार भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई २५—२१, २९—२७, २५—१५ को सोझो सेटमा पराजित गरेको हो ।
चार टिम सम्मिलित प्रतियोगितामा गण्डकीले ३ खेलबाट ६ अंक जोड्दा एपीएफले ३ खेलबाट २ अंक जोड्यो । पहिलो खेलमा पुलिससंग पराजित भएपनि गण्डकीले त्यसयता आर्मी र एपीएफलाई पराजित गरी फाइनल पुगेको हो ।
उता पहिलो खेलमा पुलिसलाई पराजित गरेको एपीएफ आर्मी र गण्डकीसंग पराजित भएको हो । यस्तै अर्को खेलमा आर्मीले पुलिसलाई २६—२४, २५—२२, २५—१४ को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो खेलमा गण्डकीसंग पराजित भएको आर्मीले एपीएफ र पुलिसलाई पराजित गर्दै ३ खेलबाट ६ अंक जोडेर फाइनल पुग्यो ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा महिला र पुरुषमा समान ४ टोलीको सहभागिता रहेको छ ।
महिलातर्फ नेपाल पुलिस क्लब फाइनल पुगिसकेको छ । अब अन्तिम लिग खेलमा एपीएफ र न्यू डायमण्डबीच हुने खेलपछि फाइनल पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ ।