कृषि गण्डकी प्रदेश राजनीति समाचार समाज हाइलाइट-समाचार

३० लाख लगानीमा बनेको ‘हाटबजार’ प्रयोगमा नआउदै भत्कियो

मोहसिन अलि मियाँ
गोरखा ।
भिमसेन थापा गाउँपालिकामा गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भएको हाटबजारको संरचना प्रयोग बिहिन बनेको छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३० लाख लगानीमा भिमसेन थापा ५ को बगुवामा निर्माण भएको संकलन केन्द्र तथा हाट बजार प्रयोग विहिन बनेको हो ।

आर्थिक बर्ष २०७५/७६ मा प्रदेश सरकारले निर्माण गरेको ५ वटा ट्रस सहितको ब्यवस्थित संरचना सञ्चालनमा आउन नसक्दा जिर्ण बन्दै गएको छ । ‘हाटबजार बनाउनी भनेर माग ग¥यौ, माथीबाट बजेटपनि आएर काम पनि भयो, उद्घाटन गरेर सुरु गर्ने भनेर सल्लाह भएको पनि सुनेको हो’ स्थानीय कोपिला पाण्डेले भनिन ‘तर २ बर्ष हुन लाग्यो, हाट बजार चल्ने त परको कुरा उद्घाटन गर्न पनि कोहि आएका छैनन ।’

डेढ बर्षअघि बगुवा स्वास्थ्य चौकीसंगै, चौकीकै करिब ५ रोपनी जग्गामा निर्माण गरिएको हाट बजार सञ्चालनमा आउन नसक्दा संरचनाहरु समेत काम नलाग्ने गरी चर्किदै गएको छ । २०७६ को असार ५ गते निर्माण सम्पन्न भएको सो हाटबजार संचालन हुन नसक्दा सो क्षेत्र दिनप्रतिदिन जिर्ण बन्दै स्थानीयको गुनासो छ ।

‘बजार बनाउने रे भनेपछि तरकारीहरु किन्न, बेच्न पाइन्छ भन्ने आशा लागेको थियो, सबैलाई सजिलो पनि हुन्थ्यो’ स्थानीय विभा राजमतीले भनिन ‘बन्न त बन्यो, तर त्यसपछि कोहि फर्केर आएका छैनन, ल हेर्नुस सब चर्किएर कामै नलाग्ने भइसकेको छ, सरकारको पैसा कसलाई के मतलव ?’

हाटबजार सञ्चालनमा नआउदा स्थानीयको आक्रोश समेत छ । ‘यो हाटबजार बनाएकै होइन, मन्त्रिज्यूले आफ्ना कार्यकर्तालाई काम दिन यस्सो बजेट फाल्देका मात्रै हुन, स्वास्थ्य चौकीको ढोकाअघि चौकीकै जग्गामा हाट बजार कसरी चल्छ ?’ वगुवाकै एक युवाले नाम प्रकाशित नगरिदिन अनुरोध गर्दै भने ‘सरासर राज्यको सम्पत्तिको दुरुपयोग हो यो ।’

भिमसेन थापा गाउँपालिका ५ का वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठ समेत हाटबजार सञ्चालनमा ल्याउन नसकेको स्विकार गर्छन । प्रदेश सरकारले क्रमागत योजना अनुसार बजेट बिनियोजन गर्ने भनेपनि दोस्रो बर्षबाट बजेट नछुट्याएकाले हाटबार संचालनमा आउन नसकेको उनले बताए ।

‘हामीले नै पहल गरेर बजेट ल्याएका हौ, प्रदेशले पहिलो बर्ष ३० लाख हालेर टहराहरु बनाइयो, तर यो पूर्ण भएको छैन, अरुपनि काम बाँकी नै छन्’ वडाध्यक्ष श्रेष्ठले भने ‘स्थानीयले बजेट हालेर चलाउन सकिने अवस्था छैन ।’ उनका अनुसार बगुवा स्वास्थ्य चौकी ब्यवस्थापन समितिले आफ्नै आँगनमा हाटबजार निर्माण गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यता गाउँपालिका अध्यक्ष इश्वर पाण्डे भने हाटबजार निर्माण भएको बारे आफुलाई आधिकारिक जानकारी नभएको दावी गर्छन । ‘मलाई हाटबजारको केहि जानकारी थिएन, एक्कासी स्वास्थ्य चौकीको आँगनमा ट्रसहरु हाल्न थालेपछि म आफै गएर बुझे’ अध्यक्ष पाण्डेले भने ‘प्रदेशको बजेटबाट बनेको भन्ने कुरा सुने, हामी स्थानीय सरकार याँहि नजिकै छौ, हामीसंग कुनै समन्वय छैन, न हामीसंग बनेको थाहा छ, न भत्केको थाहा छ ।’

व्यवसायीक तरकारी खेति नै नभएको ठाउँमा कार्यकर्ता रिझाउनका लागि गण्डकी प्रदेशका कृषी मन्त्री लेखबहादुर थापाले उक्त बजेट पारेका धेरैको आरोप छ ।

Related posts

गण्डकी प्रदेशका ६ वर्षिय बालिकासहित थप ८ जनामा संक्रमण

civilkhabar

ओलीको कदमले पार्टी एकतालाई असर गर्दैन : प्रचण्ड

civilkhabar

बुधबार कोरोनाबाट थप १५ जनाको मृत्यु

civilkhabar

Leave a Comment