कृषि गण्डकी प्रदेश समाचार समाज

स्थानीय उत्पादन प्रवद्र्धनका लागि लोकल हार्भेस्ट सञ्चालनमा

गोरखा । गोरखा नगरपालिका १२ का नारायण कुमाललाई अहिले आफूले उत्पादन गरेको खाद्यन्न कहाँ बेच्ने ? भन्ने चिन्ता छैन । गाउँमै लोकल हार्भेस्ट सञ्चालनमा आएपछि उनी निकै खुसी भएका छन् । ‘आफूलाई चाहिने राख्यो, बढि भएको लगेर बेच्न पाइएको छ ।

दुईचार पैसा देख्न सजिलो भएको छ,’ उनले भने, ‘आफ्नो घरमा नभएको कुरा किनेर खानपनि पाइएको छ ।’ उनले खुदो, मास, भटमास, पिडालु, विभिन्न अन्नहरु बेच्ने गरेको बताए । गोरखा नगरपालिका ११ मा लोकल हार्भेस्ट सञ्चालनमा आएसँगै कुमाल जस्तै कृषक र उपभोक्ताहरु समेत खुसी भएका छन् ।

किसानहरुलाई बजार खोज्ने झण्झट हटेको छ । ‘गाउँघरमा भएका लोकल उत्पादनलाई बजारसम्म पु¥याउने उदेश्यले हामीले यो कन्सेप्ट ल्याएका हौं,’ लोकल हार्भेस्टकी सञ्चालक सपना पुनःले भनिन्, ‘गोरखाको स्थानीय उत्पादनलाई देशका विभिन्न सहरमा पु¥याउने हाम्रो लक्ष्य छ ।’ यसले थोरै उत्पादन गर्ने तर आफूले खाएर नसिध्याउने किसानहरुलाई बढि फाइदा हुने उनले बताइन् ।

शहर बजारमा बस्नेहरुलाई स्थानीय खानाको स्वाद लिने अबसर पनि हार्भेस्टले प्रदान गरेको छ । ‘गाउँगाउँ पुगेर हामी त्यहाँ उत्पादन भएका गेडागुडी, अन्नपात, मह, घ्यू लगायतका खानेकुराहरु संकलन गर्छौ,’ उनले भनिन्, ‘अनि यहाँ ल्याएर ब्रान्डिङ गरेर लेभल समेत लगाएर गोरखाको प्रोडक्ट बाहिर सप्लाइ गर्ने काम गछौं ।’

उत्पादित अन्न, गेडागुडी, मह, घ्यू, अचार, चिया, कफी, आलु, विभिन्न प्रकारका जडिबुटी समेत बिक्रिका लागि राखिएको छ । ‘बिशेषगरी लेक तिर उत्पादन भएको कोदो, मकै, फापरको पिठो आलु, सिमीहरु पनि संकलन गरेका छौं,’ उनले भनिन्, ‘भिरमौरीको मह र लोकल घ्यू हामीसँग प्रसस्त छ ।’ सपना पुन र रस्मिता थिङ मिलेर २२ लाख लगानीमा कार्तिकबाट उक्त हार्भेस्ट सञ्चालनमा ल्याएका हुन् ।

हाल गोरखा नगरपालिका ११ मा कार्यालय सञ्चालन गरी सामानहरु संकलन प्रसोधन, प्याकेजिङ र बिक्रि समेत भइरहेको छ । ‘गोरखाको लागि हामीले यहीँबाट नै बेचिरहेका छौं,’ सञ्चालक पुनले भनिन्,‘काठमाण्डौमा शाखा बिस्तार भइसकेको छ, चितवन, पोखरा लगायतका ठूला सहरमा समेत छिट्टै हाम्रो उत्पादन पु¥याउने सोच छ ।’ पछिल्लो समय स्थानीय खानेकुराको माग बढ्दो छ । त्यस्ता खानेकुरा बढि स्वस्थ्यकर हुने भएकाले धेरैको रोजाइँमा पर्ने गरेको छ ।

तर उत्पादन कम र किसानको पहुँच बजारसम्म नहुँदा त्यसै खेर जाने गरेको छ । ‘विभिन्न काममा हामी गाउँ डुल्दै गर्दा धेरै दाजुभाई दिदी बहिनीले हामीसँग थोरैथोरै उत्पादन त छ तर बेच्ने ठाउँ छैन भन्ने गुनासो गर्नु भयो,’ उनले भनिन्, ‘हामीले उहाँहरुको उत्पादनलाई बजारसँग जोड्ने काम गरिदिनुपर्छ भनेर नै यो प्रयास गरेका हौं ।’ भविस्यमा स्थानीय उत्पादनको उद्योगको रुपमा लोकल हार्भेस्टलाई बिकास गर्ने उनीहरुको लक्ष्य छ ।

Related posts

नक्सामा मात्र होइन, व्यवहारमा हाम्रो भूमि फिर्ता ल्याउँछौं : प्रधानमन्‍त्री

civilkhabar

उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

civilkhabar

शहिद लखनद्धारा मानव सेवा, रेडक्रस र गुरुकुललाई सहयोग

civilkhabar

Leave a Comment