एनआरएनएका अध्यक्ष कुमार पन्तलाई अमेरिकाबाट खुलापत्र

0
29

कुमारजी, नमस्ते!

म तपाईंलाई चिन्छु। तपाईं मलाई चिन्नुहुन्न। यो कुनै ठूलो वा नौलो कुरा भएन।

तपाईं–हामी चिन्दै गरौंला।

तपाईंले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पद ‘पडकाउनु’ भयो, यो पनि मेरा लागि त्यत्ति ठूलो र नौलो कुरा होइन। किनकी तपाईं त्यसैको अभ्यास गरिरहनु भएको थियो। र, म तपाईंका ती अभ्यासहरूलाई टाढाबाट नियालीरहेको थिएँ। खासमा मैले आज तपाईंलाई सुरुमा नै बधाई भन्नुपर्ने थियो, तपाईं जो मेरो पनि नेता हुनुभएको छ। तर म आज बधाईको ‘मुडमा’ होइन, लज्जित ‘मुडमा’ छु।

म लाजले भरिएको छु। मेरो लाज ‘कुनै स्त्रीको लाखौं डलरको लाज’ जस्तो होइन, मेरो लाज बडो सस्तो छ। सस्तो तपाईंहरूले बनाउनु भएको छ। लाजमा सौन्दर्यको मूल्य हुन्छ, मेरो आजको लाजमा कुनै सौन्दर्यको मूल्य पनि छैन। म शून्य छु। मेरो लाज बितृष्णाले भरिएको छ। मेरो लाजमा कुनै ‘रोमान्टिसिजम’ छैन। लाजमा उदासिनता मिसिएको शायदै हुन्छ। आजको मेरो लाजमा उदासिनता मिसिएको छ। मलाई थाहा छैन, तपाईं कति मेरो कुरा बुझ्ने सामथ्र्य राख्नुहुन्छ। आशा गर्छु, तपाईंसँग त्यो सामथ्र्य छ। एउटा कुरा चाहिँ निर्धक्कसँग भन्छु– पैसाले त्यो सामथ्र्य किन्न सकिँदैन।

अलि खरो भए माफ गर्नुहोला।

एनआरएनएका नाममा यसपटक काठमाडौंको हायात होटलमा जे जस्तो ‘तमासा’ भयो र त्यो ‘तमासा’ पछि मैलै ‘टाढाबाट’ गैरआवासीय म जस्ता नेपालीहरूका बारेमा जे पढनु र सुन्नु पर्यो, त्यसबाट म बडो विचलित भएको छु। मेरै दाजुभाई वा आफन्तजनले म वा हामी जस्ता नेपालीका बारेमा गरेका टिप्पणीहरूले मेरो मन र मस्तिष्कलाई हल्लाइ दिएको छ। म दोधारमा छु– आफुलाई गैरआवासीय नेपाली भनुँ वा नभनुँ?

साँच्ची भनुँ?

मलाइ त्यो ‘गैर’ भन्ने शब्दसँग वर्षौैंदेखि आपत्ति छ। त्यो शब्द किन किन मलाई अप्रिय लाग्छ। नेपाली पाठकहरूले यो पढिरहनु भएको छ भने भन्नुहोला– नेपालप्रति यति हुरुक्क हुने भए किन बाहिर गएको त? यो प्रश्न मैले म आफैंलाई पनि गर्छु कहिलेकाहिँ। र, यसको ठ्याक्कै जवाफ मसँग पनि आज पर्यन्त छैन। मलाई यो चाहिँ थाहा छ– जो नेपालमा बसेर हाम्रो बारेमा टिप्पणी गरिरहनु भएको छ, उहाँहरूमध्ये धेरैजना पनि ‘चान्स’ खोजिरहनु भएको छ।

चाहे नेपालका नेपाली हुन, चाहे बाहिर बस्ने नेपाली, ‘च्वाइस’ मा होइन ‘चान्स’ मा जिन्दगी बिताइरहेका छौं। मलाई यसबारेमा धेरै टिप्पणी गर्नु छैन। अहिले यत्ति मात्र भनुँ– जिन्दगी सदैव सोझो रेखामा चल्दैन। जिन्दगी, गणित जस्तो हुँदोरहेनछ। जिन्दगीको हिसाब किताब, दुई गुणा दुई जस्तो होइन रहेछ।

कहिलेकाहिँ मलाई लाग्छ– हामी गणितका सूत्रहरूभन्दा बाहिरको जीवन बिताइरहेका छौं।

सूत्रहरूभन्दा बाहिरको जिन्दगी बिताइरहेका नेपालीहरूको जिन्दगीको आज तपाईं नेता हुनु भएको छ कुमारजी। तपाईंलाई यसको अनुभूती कति छ, मलाई थाहा छैन। तपाईं व्यापार गर्ने मान्छे। तपाईंहरू अक्सर ठान्नुहुन्छ– व्यापारमा दुई गुणा दुई नै हुनुपर्छ। तर मान्छेका जिन्दगीका भोगाईमा सदैव यस्तो हुँदैन कुमारजी।

अन्यथा नठान्नुहोला, आज सम्मको अभ्यास हेर्दा तपाईंहरू गैरआवासीय नेपालीका भावनाहरूको गहिराईमा होइन, आफ्ना व्यक्तिगत ‘पोर्टफोलियो’, सामाजिक चकाचौध र व्यापारिक स्वार्थका ‘कनेक्सन मेन्टेन’ गर्नमा नै बढी तल्लीन हुनुहुन्छ। तपाईंहरू एका दुईसँग पैसा छ, तपाईंहरू हैसियतको खोजीमा हुनुहुन्छ। तर लाखौं गैरआवासीय नेपालीहरू जीवनको खोजीमा छन्। आफ्नो हैसियत, शान सौकत र व्यापारिक स्वार्थका लागि कृपया साधारण गैरआवासीय नेपालीहरूलाई प्रयोग नगर्नुहोला।

पैसा तपाईंहरू होटलहरूबाट कमाउनुस्, मान्छेका भावनाहरूबाट त इज्जत र सम्मान कमाउने हो कुमारजी।

हेर्नुस् त कुमारजी, नेपाली समाजको मनोबिज्ञान।

अष्ट्रेलियाबाट काठमाडौं गएका एकजना गैरआवासीय नेपालीले विमानस्थलमा अलि अभद्र व्यवहार देखाए भनेर सोसल मिडियामा कति कडा कमेन्टहरू आए। करिब तीन हजार गैरआवासीय नेपाली सम्मेलनका लागि काठमाडौं गएको ठाउँमा एकजना नेपालीले विमानस्थलमा देखाएको चरित्र र व्यवहार, तपाईं–हामी सबैसँग जोडिएर आयो। अध्यागमन विभागले अत्यन्त अस्वाभाविक र अमर्यादित भाषामा गैरआवासीय नेपालीहरूप्रति टिप्पणी गर्दै विज्ञप्ती नै निकाल्यो। हायातमा केही गैरआवासीय नेपालीले गरेको होहल्लाका कारण गैरआवासीय नेपालीहरूलाई कति होच्याइयो, तपाईंलाई थाहा नै छ कुमारजी।

हेर्नुस् त, हामी कहाँ छौं? नेपाली समाज पनि बडो कृतध्न छ। पचास लाख नेपाली गैरआवासीय भएको ठाउँमा एका दुईका व्यवहार र चरित्रलाई लिएर टिप्पणी गर्न समाज कति हतारिन्छ। र, कुन हदसम्मको टिप्पणी गर्छ।

हुनत, कुमारजी हामी पनि ठाडो जवाफ दिन सक्छौैं– सभामुख जस्तो मान्छे नै ‘पातकी’ भएको देशका अरु मान्छेको के कुरा गर्नु?

तर यसो भन्नु बडो अमर्यादित हुन्छ। हामीलाई आमालाई नंग्याउनु छैन। अरु कसैलाई बाको झाँको झार्ने रहर छ भने झार्न दिनुस्।

तर कुमारजी, तपाईं–हामी पनि ठिक गरिरहेका छैनौं।

हामी आफैंले आफैंलाई नंग्याइरहेका छौं।

मेरो यत्ति आग्रह छ कुमारजी, हामीलाई लाजबाट बचाउनुहोस्।

हामी सदैव कपडा बुन्न तयार छौं– आफ्नो, मातृभूमी र कर्मभूमीको लाज बचाउन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here