गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

कोरोना रोकथाममा जलजलाले ल्यायो नयाँ अभियान : ‘एक घर एक पीसीआर परीक्षण’

पर्वत । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन पर्वतको एक गाउँपालिकाले एक घर एक पिसिआर परिक्षण अभियान थालेको छ ।

पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि पालिका क्षेत्रका प्रत्येक घरमा पुगेर पिसिआर परिक्षणको अभियान थालेको हो ।

हालसम्म ५० जना संक्रमित रहेको जलजला गाउँपालिकामा पछिल्लो समय समुदायस्तरमा समेत संक्रमण देखिन थालेको थियो । त्यसलगत्तै गाउँपालिकाले पालिकाभर कोरोना परिक्षणको अभियानलाई अघि बढाइएको अध्यक्ष यामबहादुर मल्लले सिभिलखबरलाई बताए ।

करिब ५ हजार ६ सय घरधुरी रहेको जलजलाका हरेक घरमा गाउँपालिकाले हरेक घरमा स्वास्थ्यकर्मी खटाएर पिसिआर परिक्षण गर्ने गरी अभियानको थालनी भएको अध्यक्ष मल्लको भनाई छ ।

‘कोरोनालाई केन्द्र र प्रदेशले हल्का रुपमा लिएर जनताको स्वास्थ्यमा खेलवाड गर्यो, तर हामी त्यो जिम्मेवारीबाट पन्छिन मिल्दैन’ गाउँपालिका अध्यक्ष मल्लले भने ‘हामी हाम्रो स्रोत साधनले पुगे र सक्ने जति सुविधा गाउँपालिकावासीलाई दिन्छौ’

अभियानले गाउँपालिकाभित्र कोरोना संक्रमणको अवस्था पहिचान हुने र आगामी दिनमा अवस्था हेरी योजना बनाएर अघि बढ्न सहज हुने समेत विश्वास लिएको छ ।

आफु समेत कोरोना भाइरसको संक्रमणबाट प्रभावित भई १४ दिन आइसोलेसनमा बसेको अनुभव सुनाउदै अध्यक्ष मल्लले हेलचक्राई नगरी स्वास्थ्य सुरक्षाका उपाय अनिबार्य कार्यान्वयन गर्न समेत गाउँपालिकावासीलाई आग्रह गरेका छन् ।

यस अभियानमा गाउँपालिकाले आफ्नो मातहतका करिब ७० जना स्वास्थ्यकर्मीलाई जनताको घरघरमा खटाएको जनाएको छ ।

त्यस्तै अभियानका क्रममा गम्भिर रोगका बिरामी फेला परे गाउँपालिकाले नै निशुल्क रुपमा अस्पताल लैजाने ब्यवस्था समेत मिलाएको अध्यक्ष मल्लले सिभिलखबरलाई बताए ।

यसैगरी अभियान अन्तरगत हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।

त्यस्तै गाउँपालिकाभित्रै तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

Related posts

चितवनका निजी अस्पतालले पनि थाले कोरोना संक्रमितको उपचार

civilkhabar

पहिरोले घर पुरिदाँ पाँच परिवार सम्पर्कविहीन

civilkhabar

कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने गुर्जोका ५ फाइदा

civilkhabar

Leave a Comment